राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ११, चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइरहेको छ, जहाँ कुल ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि ३७९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिका अनुसार विभिन्न समावेशी समूह र सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट ३५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ।
जसअन्तर्गत खुलातर्फबाट मात्रै ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। समावेशी समूहतर्फ भने खस–आर्यबाट १० जना (५ पुरुष र ५ महिला), आदिवासी जनजातितर्फ ९ जना (५ पुरुष र ४ महिला), मधेसी समूहबाट ८ जना (५ पुरुष र ३ महिला), दलित समूहबाट ४ जना (२ पुरुष र २ महिला), तथा मुस्लिम समूहबाट २ जना (१ पुरुष र १ महिला) निर्वाचित हुनेछन्।
यसका अतिरिक्त, भौगोलिक प्रतिनिधित्वका लागि सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले थप ३५ जना केन्द्रीय सदस्य निर्वाचित भई कुल ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।