राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार १६, काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटाएको छ । नेपाल आयल निगमले भोलिदेखि लागु हुनेगरी गरी खाना पकाउने एलपी ग्यासको मूल्यसमेतमा प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ ।
निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल/मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ । निगमले ढुवानी दुरीका आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकेको छ।