सोमबार, ८ असार, २०८३

रास्वपा महाधिवेशनको बन्दसत्र आज: प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

रास्वपा महाधिवेशनको बन्दसत्र आज: प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

२०८३ असार ०८, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहानदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ ।

शनिबार गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका साथै नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढाउन लागिएको हो । बन्दसत्र व्यवस्थापनका लागि प्रदर्शनी केन्द्रमा रहेका तीनवटा ठूला हलमध्ये दुईवटा हललाई बन्दसत्र सञ्चालन गर्न प्रयोग गरिएको छ भने बाँकी एउटा हलमा प्रतिनिधिहरूका लागि खाजा र खानाको व्यवस्था मिलाइएको छ ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दुवै दिन महाधिवेशनमा सहभागी हुने कुल चार हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूका लागि सोही स्थानमा खानाको पूर्ण व्यवस्थापन गरिएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक गर्नुभएको कार्यतालिका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ र त्यसमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल हुनेछ । त्यसलगत्तै बिहान ९:०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरानेछन् ।

बिहान १०:०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको प्रस्ताव प्रस्तुत गरी छलफल र अनुमोदन गराउने कार्यक्रम रहेको छ ।

यसैगरी, बिहान ११:४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसमाथि छलफल पश्चात् अनुमोदन गरिनेछ । दिउँसो १२:४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन् र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ ।

दिउँसो १:०० बजेको दिवाभोजपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी आधिकारिक जानकारी गराउँदै तालिका प्रकाशन गर्नेछ । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १:०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण सुरु गरिनेछ ।

इच्छुक उम्मेदवारहरूका लागि दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ६:०० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि बेलुका ६:०० बजेदेखि ७:०० बजेसम्म उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय दिइनेछ र ७:०० बजेदेखि ९:०० बजेसम्म ती दाबीविरोधहरूमाथि आयोगले जाँचबुझ गर्नेछ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ९:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ भने राति ११:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

महाधिवेशनको मुख्य आकर्षक मानिएको नेतृत्व चयनका लागि असार ९ गते मङ्गलवार बिहान ८:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म पहिलो चरणको मतदान प्रक्रिया सञ्चालन हुनेछ । यस निर्वाचनमार्फत एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा गरिनेछ, जसको लगत्तै आवश्यकता अनुसार दोस्रो चरणको मतदान प्रक्रिया अगाडि बढाइने निर्वाचन आयोगले जनाएको छ ।

advertisement_1676553908.gif