सोमबार, ८ असार, २०८३

कोशीमा मनसुन सक्रिय, तराई क्षेत्रतर्फ कोशी प्रदेशका केही स्‍थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

कोशीमा मनसुन सक्रिय, तराई क्षेत्रतर्फ कोशी प्रदेशका  केही स्‍थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

२०८३ असार ०८, काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ ।

अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ । मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो र राति देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ ।

यसैगरी कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाको पूर्वानुमान छ  ।

advertisement_1676998982.gif