शनिबार, ६ असार, २०८३

बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ असार ०६, नवलपरासी । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरुङको घाइते भई उपचारका लागि चिसापानी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते हुनेमा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका-४ बस्ने ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ बस्ने ३५ वर्षीय दिनानाथ चौधरी रहेका छन् । घाइतेमध्ये ज्ञवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, रुपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार १५ जनामध्ये ११ जना सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका-३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ ।

advertisement_1676551537.gif