राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ असार ०९, चितवन । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रभावित परिवारका छात्रछात्राहरूलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिन् ।
मन्त्री चौधरीले विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो ।
छात्रवृत्ति पाउने ९ जना विद्यार्थीमध्ये ४ जनालाई यस वर्ष पनि निरन्तरता पाएका छन् । राहत पाउनेहरूमा निकुञ्ज आसपासका पौपाण्डव, बघौडा, रैवा, बुढीराप्ती, मेघौली, केरुङ्गा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका विपन्न एवं प्रभावित परिवारका बालबालिकाहरू रहेका छन् ।
स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको छ ।
छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट पीडित बनेका र अधिकांश आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाको शिक्षामा यस सहयोगले सानो भए पनि राहत पुर्याउने विश्वास व्यक्त गरिन् ।
मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावितहरूलाई उचित राहत एवं क्षतिपूर्ति दिलाउन सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।