राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ०८, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेकाे छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङ विरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।
निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ ।
निवेदनमा आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको बयान लिइ घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, त्यसदिनको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ ।