सोमबार, १५ असार, २०८३

आगामी बजेट कार्यान्वयनका तयारी असारभित्रै पूरा गर्न निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

आगामी बजेट कार्यान्वयनका तयारी असारभित्रै पूरा गर्न निर्देशन

 २०८३ असार १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागत अनुमान तथा बोलपत्र तयारीको प्रक्रिया असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २ असारमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले बजेट कार्यान्वयनलाई समयमै अघि बढाउने उद्देश्यसहित सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक तयारी असारभित्रै पूरा गर्ने निर्णय गरेको हो ।

बैठकले सबै मन्त्रालयलाई मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण तोकिएको समय सीमाभित्र सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।

त्यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेका सवारीसाधन, फर्निचर तथा यन्त्र–उपकरणको मिनाहा वा लिलामी प्रक्रिया बाँकी रहेका निकायले प्रचलित कानुनबमोजिम असार १५ भित्र सम्पन्न गरी ती सामग्री कार्यालय परिसरबाट हटाउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

सचिव बैठकले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजु फर्स्योटलाई उच्च प्राथमिकतामा राख्दै सबै मन्त्रालय, विभाग तथा निकायले साप्ताहिक प्रगति विवरण अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बेरुजु फर्स्योट समितिमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी, भदौ २३ र २४ गतेको घटनाका क्रममा अभिलेख जलेर लेखापरीक्षण प्रभावित भएका वा लेखापरीक्षण गर्न कठिनाइ भएका निकायले महालेखा परीक्षकको कार्यालयसँग आवश्यक समन्वय गरी कानुनबमोजिम लेखापरीक्षण सम्पन्न गराउने निर्णय गरिएको छ ।

बैठकले शासकीय सुधारका एक सय कार्यसूचीअन्तर्गत समावेश कानुन तर्जुमा तथा संशोधनसम्बन्धी विधेयकहरू अविलम्ब संघीय संसदमा दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

advertisement_1676551694.gif