सोमबार, १५ असार, २०८३

गृहमन्त्री र गृहसचिवको गाडीबाट हटाइयो कालो सिसा

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

गृहमन्त्री र गृहसचिवको गाडीबाट हटाइयो कालो सिसा

२०८३ असार १५, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सार्वजनिक तथा निजी सवारीसाधनमा कालो सिसा (स्टिकर) प्रयोग गर्नेविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आफ्नै सरकारी सवारीसाधनबाट सुधारको सुरुवात गरेका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले आफू र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सवारीसाधनमा जडान गरिएको कालो स्टिकर हटाउन निर्देशन दिएका हुन् । मन्त्री गुरूङको उपस्थिति र विशेष आग्रहमा ट्राफिक प्रहरीले उक्त सरकारी गाडीहरूबाट कालो स्टिकर निकालेको छ ।

निरीक्षणका क्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई पछिल्लो समय थप कडाइका साथ सञ्चालन गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार, सवारीसाधनमा कालो सिसाको प्रयोगले सुरक्षा संवेदनशीलता बढाउने र यसको आडमा साना हतियार, लागुऔषध तथा अवैध सुनको ओसारपसार हुने जोखिम रहन्छ । नियमको पालना सबैका लागि समान हुनुपर्छ भन्ने सन्देश दिँदै मन्त्री गुरूङले कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिन ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गरेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस वा अन्य संरचनात्मक परिवर्तन गर्न पाइँदैन । ट्राफिक प्रहरीले सोही कानुनी व्यवस्थाको कार्यान्वयन गर्दै अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार दोस्रो कार्यकालमा गृहमन्त्री गुरुङले व्यक्ति–केन्द्रित शैलीभन्दा संस्थागत प्रणालीलाई प्राथमिकता दिने संकेत गरिरहेका छन् । निर्णय कार्यान्वयनमा गृहसचिव तथा प्रशासनिक संयन्त्रको भूमिकालाई अघि सार्ने उनको कार्यशैलीसँगै आफ्नै र गृहसचिवको सवारीबाट कालो सिसा हटाउने निर्णयलाई पनि कानुन कार्यान्वयन आफ्नै नेतृत्वबाट सुरु गर्न खोजिएको सन्देशका रूपमा गृह प्रशासनभित्र हेरिएको छ ।

advertisement_1680627680.gif