राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०८, काठमाडौं । राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण संकलन गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणना-२०८२ मा कागजी प्रश्नावली र इ-सेन्सस दुवै माध्यमबाट तथ्यांक संकलन गरिएको छ ।
हालसम्म १३ लाख ४४ हजार ५०० वटा कागजी प्रश्नावली संकलन गरिएको छ भने ६ हजार ६६७ वटा प्रश्नावली इ-सेन्सस प्रणालीमार्फत प्राप्त भएका छन्। यससँगै कुल सङ्कलित विवरणको संख्या १३ लाख ५१ हजार १६७ पुगेको छ ।
यसअघि सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणना-्र२०७५ मा ९ लाख १७ हजार ४७० वटा कागजी प्रश्नावली र ५ हजार ८८६ वटा इ-सेन्सस प्रश्नावली गरी कुल ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो ।
तथ्याङ्कले दोस्रो आर्थिक गणनामा पहिलो गणनाको तुलनामा उल्लेख्य रूपमा बढी आर्थिक प्रतिष्ठान तथा व्यवसायिक गतिविधि समेटिएको देखाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म जिल्लास्तरमा आर्थिक गणना कार्यालय स्थापना गरी देशव्यापी रूपमा दोस्रो राष्ट्रिय आर्थिक गणना सञ्चालन गरिरहेको हो ।
कार्यालयका अनुसार नेपालको संविधान, तथ्यांक ऐन-२०७९, तथ्यांक विकासका लागि राष्ट्रिय रणनीति तथा राष्ट्रिय आर्थिक गणना सम्बन्धी प्रशासनिक एवं आर्थिक मापदण्ड-२०८२ लगायतका कानुनी तथा नीतिगत व्यवस्थाका आधारमा गणना कार्य भइरहेको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ-संस्था, तिनको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ ।
यसबाट प्राप्त तथ्यांकले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुमानलाई थप विश्वसनीय बनाउन, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न तथा सरकारका नीति, योजना र विकास लक्ष्यहरूको मूल्यांकनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना तथा अल्पकालीन र दीर्घकालीन आर्थिक योजना निर्माणका लागि आवश्यक आधारभूत तथ्याङ्क उपलब्ध गराउने विश्वास लिइएको छ ।
राष्ट्रिय आर्थिक गणना–२०८२ का लागि देशभर ३ हजार ९०७ जना गणक, ५२६ जना सुपरिवेक्षक, ५०४ जना जिल्लास्तरीय व्यवस्थापन समूहका सदस्य तथा ५३ जना केन्द्रस्तरीय व्यवस्थापन समूहका सदस्य परिचालन गरिएको छ ।