शुक्रबार, १२ असार, २०८३

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी

२०८३ असार १२, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनबाट विपिन आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनमा शुक्रबार भएको मतदानको प्रारम्भिक नतिजा अनुसार, आफ्ना निकटतम प्रतिस्पर्धी मनिष झालाई पराजित गर्दै आचार्य महामन्त्री बनेका हुन्।

विद्युतीय भोटिङ मेसिन तथा प्रवासबाट प्राप्त मतका आधारमा भएको गणनामा आचार्यले ६७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एवं पार्टीका तत्कालीन प्रवक्ता मनिष झाले ३४६ मत मात्रै पाए । महामन्त्री पदका अन्य उम्मेदवारहरू गणेश कार्कीले १६९ र सागर ढकालले १३९ मत प्राप्त गरेका छन्।

मतगणना सम्पन्न भएलगत्तै महाधिवेशनस्थल बाहिर नवनिर्वाचित महामन्त्री आचार्य र नेता झा सँगै मिडियासामु देखा परेका थिए । सो क्रममा पराजित उम्मेदवार झाले परिणामको औपचारिक घोषणा हुनु अगावै पत्रकारहरूकै अगाडि आचार्यलाई अँगालो हालेर जितको बधाई दिएका थिए ।

यसअघि पार्टीको सहमहामन्त्री रहेका आचार्यलाई सभापति रवि लामिछानेसहित संस्थापन पक्षका अधिकांश नेताहरूको बलियो साथ रहेको थियो । नतिजाको औपचारिक घोषणा भने केही बेरमा गर्ने निर्वाचन समितिको तयारी छ ।
 

advertisement_1676551646.gif